इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नाम्जेमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेश, इटहरी तथा ज्ञान मन्दिर योग केन्द्र को आयोजनामा ‘अन्तर यात्रा’ नामक विशेष आवासीय योग तथा ध्यान कार्यक्रम सुरु भएको छ। २२ गते शुक्रबारबाट सुरु भएको योग शिविरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ५० जनाभन्दा बढीको सहभागिता रहेको छ।

२६ गतेसम्म सञ्चालन हुने शिविरको पहिलो दिन सहभागीहरूलाई स्वस्थ जीवन, शारीरिक तन्दुरुस्ती तथा अनुशासित जीवनका लागि योगको महत्त्वबारे शिक्षा प्रदान गरिएको छ। साथै, साधना एवं भक्ति दर्शनमार्फत जीवनलाई सरल र सार्थक बनाउन सकिने विषयमा पनि प्रशिक्षण दिइएको छ।

प्राकृतिक तथा शान्त वातावरणमा सञ्चालन भइरहेको उक्त कार्यक्रममा सहभागीहरूलाई माँ निशा कबिर ले मार्गदर्शन गरिरहनुभएको छ। चार दिनसम्म सञ्चालन हुने शिविरले आफ्नै अन्तरमनसँग पुनः जोडिन, मानसिक शान्ति प्राप्त गर्न तथा आत्मअनुभूतिको गहिरो यात्रामा अघि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ।

 शिविरले योग, ध्यान तथा विभिन्न आध्यात्मिक अभ्यासमार्फत सहभागीहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै आत्मजागरूकता र भावनात्मक सन्तुलनतर्फ उन्मुख गराउन मद्दत पुग्ने आयोजक त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेश, इटहरी की अध्यक्ष सुभद्रा प्याकुरेल ले बताउनुभयो।

yogaशिविरका क्रममा सहभागीहरूले आन्तरिक उपचार, गहिरो ध्यान, मानसिक विश्राम तथा आध्यात्मिक स्पष्टताको अनुभव प्राप्त गर्ने अध्यक्ष प्याकुरेलको दाबी छ। प्राकृतिक वातावरणमा सञ्चालन भइरहेको कार्यक्रमले दैनिक जीवनको तनावबाट केही समय टाढा रहेर आफूलाई बुझ्ने अवसरसमेत प्रदान गर्ने बताइएको छ।

टाढाबाट आउने सहभागीहरूका लागि सुरक्षित आवास तथा भोजनको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

साथै, तराई क्षेत्रमा बढ्दो अत्यधिक गर्मीबाट केही समय राहत पाउँदै शीतल वातावरणमा मनलाई शान्त बनाउन र नाम्जेका रमणीय प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिने जनाइएको छ।

व्यस्त जीवनशैली, मानसिक तनाव र आन्तरिक असन्तुष्टिबीच आत्मिक शान्ति खोज्नेहरूका लागि यो शिविर वरदान सावित भएको सहभागीहरूले बताएका छन्।

माँ निशा कबिर को नाम सुनेर नै शिविरमा सहभागी भएका इटहरी पिस जोन स्कुल का प्रिन्सिपल केशवप्रसाद भट्टराई ले योगले जीवनको महत्त्व बुझाउनुका साथै शरीरमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो।“यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा धेरै खुसी छु,” भट्टराईले भन्नुभयो। उहाले याेग तथा ध्यान शिविरकाे समय अपुग भएकाे र केहि दिन अझै थप गर्न आयोजकलाइ सुझाव दिनुभयाे । यसै बिच कार्यक्रममा सहभागी अधिकांसले निसा कविरद्वारा प्रदान गरिने याेग तथा ध्यान शिक्षाकाे समय अपुग भएकाे र केहि दिन थप्न आयोजक समक्ष माग राखेका छन ।