सृजना ठाकुर 

इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको समन्वय र सहयोगमा विराटनगरस्थित होटल रुविजमा सञ्चालित ३ दिने ’समाचार लेखन तथा आचारसंहिता सम्बन्धी तालिम’ आज सम्पन्न भएको छ ।

जेठ २२ गतेदेखि २४ गतेसम्म सञ्चालित यस तालिमको मुख्य उद्देश्य मोफसलका पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु र पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित, निष्पक्ष एवं जिम्मेवार बनाउनु रहेको थियो। महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्काको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा सञ्चालित यस कार्यक्रममा सुनसरी, झापा, मोरङ र भोजपुरका गरी जम्मा ४१ जना पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

2

तालिममा वरिष्ठ पत्रकारद्वय यज्ञप्रसाद शर्मा र महाप्रसाद खतिवडाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै समाचार कसरी पत्ता लगाउने, समसामयिकता, प्रभाव, मानवीय रुचि, जस्ता कानुनी विषयहरूमा व्यावहारिक अभ्यास गराउनुभएको थियो। कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कमल रिमाल, मोरङका उपाध्यक्ष सन्तोष सिग्देल, प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी कोशीका महासचिव बाबुराम भण्डारी, सल्लाहकार लिलाबल्लभ घिमिरे, विराटनगर महानगरपालिकाकी सञ्चार शाखा प्रमुख कमला निरौला, सञ्चारिका समूह कोशीकी महासचिव अनु भट्टराई लगायत विभिन्न मिडियाका वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

3

महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारीले संयोजन गर्नुभएको उक्त कार्यक्रमको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।