इटहरी । विगत दुुई दिन यता ठुला मालबाहक सवारी पार हुन नसक्दा मेची राजमार्गको माई खोलास्थित राजदुवाली माथिपट्टिको सडक थप कस्टकर बन्न थालेको छ । 

गएको असोज १८ गतेको वर्षापछि राजमार्गमा गएको पहिरोका कारण अहिले पनि सो सडक खण्डमा सवारी साधन पार हुन ठुलो समस्या रहेको छ । पहिरो माथि नै ट्रयाक खोलेर अस्थाइ रूपमा बनाइएको सडकको अवस्था अहिले पनि त्यहि रहँदा समस्या उस्तै रहेको छ । 

खोलादेखि नै कङ्क्रिट वाल लगाएर सडकलाई उठाउन थालिए पनि पटक–पटक माथिबाट सडक नै बग्ने, पहिरो खस्ने र माईखोलामा बाढी आउने कारण निरन्तर काम गर्न नसक्दा समस्या उस्तै रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुुभयो ।  

दुुई दिन यता सडक नै बग्ने क्रम सुरु भएपछि सवारीलाई सो सडक क्षेत्र पार गराउन समस्या भइरहेको भट्टराईको भनाइ छ । यता दुुई दिनदेखि सामग्री बोकेका सवारी खोलापारी नै बस्नुुपर्दा ठुलो समस्या आएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौड्यालले  बताउनुुभयो । 

 मेची पहाडलाई जोड्ने यो सडकखण्ड अवरुद्ध हुँदा इलामसहित पाँचथर, ताप्लेजुुङसम्म आवत–जावत र दैनिक उपभोग्य वस्तुु ढुवानीमा समस्या भएको थियो । अहिले पनि पहिरोमाथि खोलिएको ट्रयाकमा यातायात सञ्चालनमा दैनिक कठिनाइ उत्पन्न भइरहेको जनाइएको छ ।