इटहरी । मोरङ जिल्लाको लेटाङ नगरपालिकाको एउटा गाउँमा २०८३ साल जेठ २३ गते मोटरबाटो पुगेको सुन्दा पत्याउनै गाह्रो लाग्न सक्छ ।
तर,नगरपालिकाको वडा नं। १ अन्तर्गत पर्ने दुर्गम हैकले गाउँबासीका लागि जेठ २३ गते विशेष दिन रह्यो । पहिलो पटक गाउँसम्म मोटरबाटो पुगेपछि स्थानीयवासीले खुसियाली मनाउँदै लेटाङ नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार लावती, वडा नं। १ का वडाध्यक्ष विष्णुकुमार मगर तथा नगरको टोलीलाई फूलमाला लगाएर भव्य स्वागत गर्नुभयो ।
वडा नं। १ को पहल र नगरपालिकाको सबै गाउँमा मोटरबाटो पु¥याउने लक्ष्यमा स्थानीयले जनश्रमदान समेत गरेपछि हैकलेसम्म मोटरबाटो पु¥याउन सम्भव भएको हो । वडाध्यक्ष विष्णुकुमार मगरका अनुसार हैकले गाउँ नगरपालिका कार्यालयबाट करिब १४ किलोमिटर पश्चिमउत्तरमा तथा वडा कार्यालय रहेको साग्माबाट सबैभन्दा टाढा, करिब २२ किलोमिटर पश्चिम उत्तर दिशामा अवस्थित छ ।
गतवर्ष नगर र वडाको पहलमा धनवरेसम्म मोटरबाटो पुगेको थियो। यसवर्ष धनवरेबाट थप दुई किलोमिटर उत्तर रहेको हैकलेसम्म सडक विस्तार गरिएको हो ।स्थानीय जनश्रमदान, नगरपालिकाको सहयोग र वडाको बजेटबाट सम्पन्न सडक निर्माणले १२ घरधुरी बसोबास गर्ने हैकले गाउँलाई पहिलो पटक सिधै सडक सञ्जालसँग जोडेको उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर लिम्बूले बताउनुभयो।
सडक अभावका कारण वर्षौंदेखि विकासको मूलधारबाट टाढा रहेको हैकलेका बासिन्दाले आफूहरू नगरपालिका भित्र रहेर पनि नगरवासी भएको अनुभूति गर्न नपाएको गुनासो गर्दै आएका थिए। अहिले गाउँमै गाडी पुगेपछि उनीहरूमा नयाँ आशा र उत्साह जागेको छ। नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरपालिका भएर पनि सडक पहुँचबाट वञ्चित रहेको हैकलेमा गाडी पुग्नु स्थानीयका लागि मात्र नभई नगरपालिकाकै उपलब्धि भएको बताउनुभयो।
स्थानीयवासीले यसलाई गाउँको विकास यात्रामा ऐतिहासिक मोडका रूपमा लिँदै आगामी दिनमा पनि नगर र वडाको सहकार्यबाट थप विकास निर्माणका काम अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। दशकौँसम्म पैदल बाटो र नाम्लोको भरमा जीवन चलाउँदै आएका हैकलेवासीका लागि मोटरबाटो सपना जस्तै बनेको थियो ।बाटो पुगेपछि हैकलेका १२ घरधुरीले खुसी प्रकट गर्नु भएको छ ।


