इटहरी । ज्येष्ठ नागरिक सेवा समाज नेपाल, मोरङ सुन्दरहरैंचा–३ को आयोजना तथा वडा कार्यालयको सहयोगमा लक्ष्मीनारायण मन्दिरको सभाहलमा “माता सम्मान कार्यक्रम–२०८३”सम्पन्न भएको छ।

“ज्येष्ठ नागरिकको सम्मान गरौँ, आदर्श समाजको निर्माण गरौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा २५० भन्दा बढी आमाहरूलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दरहरैंचा–३ का वडाध्यक्ष विदुर ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगाना र अध्यक्ष कार्कीले आमाको योगदान अतुलनीय रहेको चर्चा गर्दै ज्येष्ठ नागरिकको हक, हित र संरक्षणका लागि सदैव प्रतिबद्ध रहने बताउनुभयो । कार्यक्रममा विशेष रूपमा ९२ वर्षीया तुलसा देवी लुइँटेल र ८३ वर्षीया चन्दमाया कार्कीलाई विशिष्ट सम्मान प्रदान गरिएको थियो।

संस्थाकी सहजकर्ता रीता दाहालले सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको जानकारी दिनुभयो । मातृत्वको सम्मान र ज्येष्ठ नागरिक प्रतिको आदरभावलाई मजबुत बनाउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।