इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पाँचथरले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सबै पदाधिकारी, सदस्य तथा समिति संयोजकहरूलाई सर्वसम्मत रूपमा चयन गर्दै नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।

नवनिर्वाचित जिल्ला सभापतिमा प्रकाश गुरुङ चयन हुनुभएको छ । उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जवेगू र कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना रिजाल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरी प्रसाद निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी ,खगेन्द्र सिग्देल र इन्द्र लावती चयन हुनुभएको छ । अधिवेशनले जिल्ला कार्यसमिति सँगै विभिन्न २६ वटा समितिका पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरेको अधिवेशन सदस्य रञ्जन ओझाले जानकारी दिनुभयो ।

पार्टीको संगठन विस्तार, स्थानीय तहसम्म संरचना सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ । रास्वपाले आइतबार नै जिल्ला अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनमा सहभागी प्रतिनिधिहरूले सर्वसम्मतिको अभ्यासलाई प्राथमिकता दिँदै सबै पदमा निर्विरोध नेतृत्व चयन गरेका हुन् ।