इटहरी । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको आयोजनामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा साइबर अपराधसम्बन्धी एकदिने पत्रकार प्रशिक्षण कार्यक्रम आइतबार भेडेटारमा सम्पन्न भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा आयोजित प्रशिक्षणमा प्रमुख प्रशिक्षक प्रवेश सुवेदीले कृत्रिम बौद्धिकताको विकासक्रम, पत्रकारितामा यसको प्रयोग, अवसर तथा चुनौतीका विषयमा सहजीकरण गर्नुृभएको थियो । प्रशिक्षणका क्रममा उहाँले प्रविधिको विकाससँगै समाचार उत्पादन र सूचना व्यवस्थापनका कार्य सहज बन्दै गएको उल्लेख गर्दै एआईको प्रयोग गर्दा तथ्य परीक्षण, सन्दर्भको शुद्धता र पत्रकारिताको नैतिक पक्षमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
एआई नागरिकको सहयोगी प्रविधि भएकाले यसको जिम्मेवार र उद्देश्य अनुकूल प्रयोग आवश्यक रहेको उहाँको भनाइ थियो। त्यसैगरी, साइबर सुरक्षासम्बन्धी सत्रमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव थेवेले साइबर अपराधका विविध आयामबारे जानकारी गराउनुभएको थियो । उहाँले सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम मार्फत हुने अपराध, व्यक्तिगत विवरणको दुरुपयोग, अनलाइन ठगी तथा त्यसबाट बच्ने उपायका विषयमा सहभागीलाई जानकारी गराउँदै डिजिटल युगमा पत्रकारहरू साइबर सुरक्षाप्रति अझ बढी सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारहरूले नयाँ प्रविधिबारे निरन्तर अध्ययन र ज्ञान आर्जन गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका सचिव विनय बाह्रकोटीले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । प्रशिक्षणमा सुनसरी जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।


