इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ र १२ को सिमानामा पर्ने पुलचोक–विराटचोक सडक खण्डमा लामो समयदेखि रहेको सडकको जोखिम अन्त्य भएको छ ।
वर्षौंदेखि जीर्ण बनेको उक्त मुख्य सडकमा परेका गहिरा खाल्डाहरूका कारण दैनिकजसो सवारी दुर्घटना हुने गरेको थियो । विशेषगरी मोटरसाइकल चालक र पैदलयात्रीहरू यसको प्रत्यक्ष मार्कामा पर्दै आएका थिए । स्थानीय बासिन्दाले सडक मर्मतका लागि पटक–पटक सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सरकारी तहबाट कुनै ठोस पहल हुन सकेको थिएन ।
सञ्चारमाध्यममा सडकको दयनीय अवस्थाबारे समाचार सार्वजनिक भएपछि सामाजिक अभियन्ता एवं व्यवसायी देवराज तामाङले व्यक्तिगत खर्चमा आवश्यक सामग्री जुटाई ती जोखिमपूर्ण खाल्डाहरू पुर्ने व्यवस्था मिलाउनुभएको हो । तामाङको यो अग्रसरता पछि अहिले उक्त सडक खण्डमा सवारी आवागमन सहज बनेको छ भने दुर्घटनाको जोखिम समेत टरेको छ ।
नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयमा स्थानीय सरकार मूकदर्शक बनेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् भने तामाङको सामाजिक उत्तरदायित्वको खुलेर प्रशंसा गरेका छन् । यता तामाङले भने नगरभित्रका यस्ता जनसरोकारका सवालमा आफू सधैं सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ ।


