इटहरी । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा सामान वारपार गर्न पुनः घिर्नी सञ्चालनमा ल्याइएको छ ।

सुनकोशीले बगाएको पक्की पुल निर्माण नभएपछि सामान वारपार गर्न घिर्नी जडान गरेर सञ्चालनमा ल्याइएको हो । फोक्सिङटारको पक्की पुल बगाएपछि हिउँदमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । कोशीमा पानीको बहाब बढेसँगै जेठ ३ गते बेलिब्रिज निकालिएपछि सामान वारपार गर्न जेठ १५ गतेबाट घिर्नी सञ्चालनमा ल्याइएको हो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी सहर जाने र आउने छोटो दुरीको बाटो हो । सोही सडकमा पर्ने खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने फोक्सिङटारमा निर्माण गरिएको १२० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल २०८१ साल असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो । 

बाढीले पुल बगाएपछि हिउँदमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । बर्खामा बेलिब्रिज नहुँदा निर्माणसँगै दैनिक उपभोग्य सामान पूर्वी तराईबाट खोटाङ ल्याउन सुनकोशीमा घिर्नी जडान गरिएको हो । विशेष गरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पानधारे कालोपत्रे सडकका लागि सामान ढुवानी गर्न सुनकोशीको फोक्सिङटारमा घिर्नी जडान गरिएको निर्माण व्यवसायी महेश रेग्मीले बताउनुभयो । रसुवा–पानधारे सडक अन्तर्गत रसुवा–सिमपानी १५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । त्यसका लागि सामान तार्न सुनकोशीमा घिर्नी जडान गरिएको उहाँको भनाइ छ । अघिल्लो वर्षको बर्खामा जडान गरिएको घिर्नी बेलिब्रिज लगाएपछि थन्क्याइएको थियो । जेठ ३ गते बेलिब्रिज झिकिएपछि पुनः जेठ १५ बाट घिर्नी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।  

रसुवा–पानधारे सडक कालोपत्रेको सामान ढुवानीका लागि घिर्नी जडान गरिए पनि अन्य व्यवसायी र स्थानीयले समेत सोही घिर्नीबाट सामान तार्ने गरेका छन् । घिर्नी सञ्चालनका लागि दुई जना कामदार राखिएको छ । उनीहरूको ज्याला र घिर्नी सञ्चालन गर्दा लाग्ने इन्धन खर्च उठ्ने गरी रकम लिएर अन्य व्यवसायीको पनि सामान तारिदिने गरेको रेग्मीको भनाइ छ । विशेष गरी घिर्नीबाट व्यवसायीले इन्धन, जाली, सिमेन्ट, रडलगायतका सामान र अन्यले दैनिक उपभोग्य सामान खोटाङतर्फ आयात गर्ने गरेका छन् । खोटाङबाट विशेष गरी अहिले काठ निर्यात भइरहेको छ । फोक्सिङटारमा जडान गरिएको बेलिब्रिज निकालिएपछि अहिले दिक्तेल, बाक्सिला, ऐँसेलुखर्क रावाबेँसी र हलेसी क्षेत्रका सवारीसाधन घुर्मी–कटारीको लामो दुरीको सडकबाट आवतजावत गरिरहेको खोटाङ यातायात प्रालिका महासचिव राम हिङमाङले बताउनुभयो । दिप्रुङ, चुइचुम्मा, खोटेहाङलगायतका क्षेत्रका सवारीसाधन रसुवाबाट पल्टी गरेर सञ्चालन भइरहेका छन् । रसुवाको झोलुङ्गे पुलमार्फत मोटरसाइकल भने सिधा वारपार गरिरहेको छ । 

फोक्सिङटारमा पुल नहुँदा निर्माणसँगै दैनिक उपभोग्य वस्तु कटारी–घुर्मीको बाटोबाट ल्याउनुपर्ने भएकाले महँगो हुने गरेको खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो ।