इटहरी। मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी क्षेत्रमा सोमबार राति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते हुनु भएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार जेठ २५ गते राति साढे ९ बजे तिर लेटाङबाट मदन भण्डारी राजमार्ग हुँदै धोबीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प। ५५६२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दुई महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा लेटाङ नगरपालिका–२, धोबी निवासी ३६ वर्षीया कञ्चन राई गम्भिर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा विराटनगरको आर्या न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा घाइते भएकी लेटाङ नगरपालिका–२, धोबी निवासी ३५ वर्षीया सुचन राईको हात तथा खुट्टामा चोट लागेको छ । उहाँको आर्या न्युरोमा उपचार भइरहेको जनाइएको छ । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल चालक इलाम नगरपालिका–२ घर भई हाल लेटाङ नगरपालिका–२, धोबी बसोवास गर्दै आएका २६ वर्षीय सुशील मगर तथा मोटरसाइकलमा पछाडि सवार लेटाङ नगरपालिका–२, धोबी निवासी २५ वर्षीय मौसम मल्ल ठकुरीलाई नियन्त्रणमा लिएको छ ।


