इटहरी । मोरङका पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकालाई जोड्ने सुनझोडा खोलामाथि निर्माणाधीन मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ ।
पुलको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । संघीय सरकारको ५६ करोड ८ लाख ९३ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त पुलको शिलान्यास २०८२ साल जेठ १७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यद्वय डिगबहादुर लिम्बू र सुनिल शर्माले संयुक्त रूपमा गर्नुभएको थियो। पुल निर्माणको जिम्मा कार्की बन्धु कन्स्ट्रक्सन प्रालि, विराटनगरले पाएको छ भने निर्माण कार्य २०८३ साल चैत ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यासका बेला पुल निर्माणको खुसीमा उर्लाबारी–३ चन्दनेका स्थानीयवासीले सांसद लिम्बू र सांसद शर्मा लगायतका अतिथिहरूलाई बाजागाजा र फूलमाला सहित स्वागत गरेका थिए । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरू खोलामा आएको बाढी पार गर्दै कार्यक्रमस्थल पुगेका थिए भने स्थानीयवासीलाई जेसीभी र ट्र्याक्टर मार्फत खोला पार गराइएको थियो ।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो, उपप्रमुख मीना खतिवडा पौडेल सहित विभिन्न जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
पुल निर्माण सम्पन्न भएपछि पथरी शनिश्चरे र उर्लाबारीबीचको आवागमन सहज हुने, व्यापारिक तथा पर्यटन गतिविधिमा वृद्धि हुने र दुवै पालिकाका स्थानीय नागरिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो ।


