इटहरी ।  ताप्लेजुङका स्थानीय तहले सङ्घीय बजेट करिब तीन अर्ब २० करोड रुपियाँ पाउने भएका छन् ।

यहाँका स्थानीय  तहले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०८३र८४ मा समानीकरण अनुदान, सशर्त, विशेष र समपुरक अनुदानका रुपमा सङ्घीय सरकारबाट उक्त बजेट पाउने भएका हुन् । ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिकासमेत गरी नौ वटा स्थानीय तहले कुल तीन अर्ब १९ करोड ९३ लाख रुपियाँ पाउने भएका हुन् । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाले ४९ करोड २९ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको छ भने मिक्वाखोला गाउँपालिकाले सबैभन्दा न्युन २६ करोड ८६ लाख रुपियाँ बजेट पाउने भएको छ ।

फुङ्लिङ नगरपालिकाले समानीकरण अनुदानतर्फ १४ करोड ८६ लाख रुपियाँ, सशर्त अनुदान ३१ करोड ३८ लाख, विषेश अनुदान एक करोड ८३ लाख र समपुरक अनुदानतर्फ तीन करोड ७८ लाख रुपियाँ बजेट पाउने भएको छ । फुङ्लिङपछि सिरिजङ्घा गाउँपालिकाले ४२ करोड ९४ लाख रुपियाँ सङ्घीय बजेट प्राप्त गर्ने भएको छ । सिरिजङ्घाले प्राप्त गर्ने बजेटमा समानीकरण अनुदानतर्फ १३ करोड दुई लाख रुपियाँ, सशर्त अनुदानमा २६ करोड आठ लाख, विशेष एक करोड चार लाख र समपुरक अनुदानमा चार करोड ६७ लाख रुपियाँ रहेको छ ।

फक्ताङलुङ गाउँपालिकाले समानीकरणतर्फ ११ करोड ३३ लाख, सशर्त २२ करोड १८ लाख, विशेष अनुदान दुई करोड ९७ लाख र समपुरकतर्फ पाँच करोड ५४ लाख गरी कुल ३८ करोड ३२ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको छ । त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाले प्राप्त गर्ने ३५ करोड १६ लाख बजेटमा समानीकरण अनुदानतर्फ १० करोड १९ लाख रुपियाँ रहेको छ । सशर्त अनुदानतर्फ २० करोड ६५ लाख, विशेष अनुदान एक करोड ८० लाख र समपुरक अनुदानतर्फ तीन करोड ५५ लाख रुपियाँ रहेको छ ।

मेरिङ्देन गाउँपालिकाले समानीकरण अनुदानतर्फ १० करोड ८४ लाख रुपियाँ, सशर्त अनुदानमा १९ करोड ४२ लाख, विशेष दुई करोड २५ लाख र समपुरक अनुदानमा चार करोड ४८ लाखसमेत गरी ३४ करोड १ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको छ । त्यस्तै आठराई त्रिबेणी गाउँपालिकाले पाउने सङ्घीय बजेट ३३ करोड ७५ लाख रुपियाँ रहेको छ । आठराई त्रिबेणीले समानीकरण अनुदानतर्फ १० करोड छ लाख, सशर्त अनुदानतर्फ २० करोड ८० लाख, विशेष अनुदान एक करोड र समपुरक अनुदानतर्फ तीन करोड ३७ लाख रुपियाँ बजेट पाउने भएको छ ।

यस्तै सिदिङ्वा गाउँपालिकाले ३१ करोड २५ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको छ । उक्त बजेटमध्ये समानीकरण अनुदानतर्फ १० करोड ५१ लाख रुपियाँ, सशर्त अनुदान १८ करोड ९४ लाख, विशेष एक करोड र समपुरक अनुदानमा दुई करोड १३ लाख रुपियाँ रहेको छ । यसैगरी मैवाखोला गाउँपालिकाले समानीकरण अनुदानतर्फ नौ करोड ५३ लाख रुपियाँ, सशर्त अनुदान १६ करोड ८७ लाख, विशेष एक करोड ६० लाख र समपुरक अनुदानतर्फ दुई करोड ३८ लाखसमेत गरी कुल २८ करोड ३५ लाख रुपियाँ बजेट पाउने भएको छ ।

मिक्वाखोला गाउँपालिकाको २६ करोड ८६ लाखमध्ये समानीकरणतर्फ १० करोड सात लाख रुपियाँ रहेको छ । त्यस्तै सशर्त अनुदान १४ करोड २६ लाख रुपियाँ, विशेष अनुदानमा ७९ लाख रुपियाँ र समपुरक अनुदानतर्फ दुई करोड ८६ लाख रुपियाँ मिक्वाखोलाले पाउने भएको छ ।