इटहरी ।  एउटै प्रकृतिका दुईवटा फरक अपराधमा दोषी ठहर भए पनि लामो समयदेखि फरार रहेका एक जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् । 

अदालतको फैसला कार्यान्वयनमा सक्रिय रहेको मोरङ प्रहरीले अलगअलग घटनामा संलग्न भए पनि एउटै मुद्दा चलाइएका प्रतिवादी पक्राउ परेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले सुनवर्षी नगरपालिका–८ का २४ वर्षीय जाफर आलमलाई पक्राउ गरिएको बताए । आलम दुईवटा फरक–फरक नकबजनी चोरी मुद्दामा दोषी ठहर भई एक वर्ष अघिदेखि फरार रहेका प्रतिवादी हुन् ।

आलमलाई प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनकै घर वतनबाट नियन्त्रणमा लिएको लामिछानेले बताए । प्रहरीका अनुसार आलमलाई २०८१ साल पुस ९ गते जिल्ला अदालत मोरङले दुवै मुद्दामा दोषी ठहर गरेको थियो । दुवै मुद्दामा समान १ वर्ष ५ महिना ६ दिनका दरले कैद सजाय सुनाएको थियो । साथै, दुवै मुद्दामा १५–१५ हजार रुपैयाँका दरले जरिबाना पनि तोकिएको थियो । अदालतको फैसला अनुसार आलामले २ वर्ष १० महिना १२ दिन कैद सजाय तथा ३० हजार रुपैयाँ जरिबाना भुक्तान गर्नुपर्ने हुन्छ ।

अदालतबाट सजाय तोकिएपछि फरार रहेका आलम लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए । प्रहरीले पछिल्लो समय उनलाई केन्द्रित गरेर निगरानी बढाएको थियो । पक्राउ परेका आलमलाई प्रहरीले अदालतमा बुझाएको छ । प्रहरीले पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको जानकारी दिए । उनका अनुसार अदालतबाट दोषी ठहर भइसकेपछि पनि फरार रहने प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको छ । 

पछिल्लो समय मोरङमा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्दै विशेष अभियान सञ्चालन गरिएको उनको भनाइ छ । एसपी कटवाल प्रहरी सक्रियताले अपराध नियन्त्रण र कानुनी शासनको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।