सुनसरी / गढी गाउँपालिकाको आयोजनामा गढी–२ भमरीस्थित श्री गढदेव आधारभूत विद्यालयमा बुधबार आयोजित एकीकृत घुम्ती सेवा शिविर को उद्घाटन सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता गढी गाउँपालिका अध्यक्ष आशा नारायण चौधरी ले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईं, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, ग्रामीण महिला उद्यमता विकास मञ्च (FORWARD) का कर्मचारीहरू तथा विराट मेडिकल कलेज टिचिङ अस्पताल का चिकित्सकहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाको सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्वास्थ्य, सामाजिक सुरक्षा, प्रशासनिक तथा अन्य विभिन्न सेवा प्रदान गरिएको थियो। शिविरमा विशेषज्ञ चिकित्सक तथा प्राविधिक टोलीबाट स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक सेवा उपलब्ध गराइएको थियो।
आयोजकका अनुसार शिविरबाट विभिन्न सेवा क्षेत्र समेटेर कुल ३०० जनाले प्रत्यक्ष सेवा प्राप्त गरेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले स्थानीय नागरिकलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
उक्त शिविर गढी गाउँपालिकाको आयोजना, जी फाउन्डेसन को आर्थिक तथा प्राविधिक सहयोग, विराट मेडिकल कलेज टिचिङ अस्पताल को प्राविधिक सहयोग तथा ग्रामीण महिला उद्यमता विकास मञ्च (FORWARD) को सह–आयोजनामा सम्पन्न भएको हो ।


