इटहरी । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ ।
क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो । हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईले बताउनुभयो । बाँकी रहेका घरमा पनि क्रमशः पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो । पानी शुद्धीकरण पर्ने प्रविधि जडान नगरिएकाले पानी वितरणमा केही समस्या भएको उहाँको भनाइ छ । मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्सातको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको अध्यक्ष राईले बताउनुभयो ।
बस्तीमा पानी वितरण थालिएपछि वर्षौंदेखीको पानीको समस्या हटेको स्थानीयवासी छत्रमाया कार्कीले बताउनुभयो । लोमा खोलाको पानी घरमा आएपछि दैनिक काममा सहजता भएको उहाँको भनाइ छ । बस्तीमा लोमा खोलाको पानी आएपछि दैनिकी नै फेरिएको स्थानीयवासी तिलबहादुर श्रेष्ठले बताउनुभयो । पानी आएपछि गाईभैँसी खुवाउनदेखि दैनिक सरसफाइमा सहजता भएको उहाँले बताउनुभयो । यो आयोजनाले षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका करिब एक हजार ५०० परिवारलाई राहत पुग्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो ।
यो आयोजना निर्माणको काम दुई ‘स्किम’मा सञ्चालन भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका इन्जिनियर दीपक यादवले जानकारी दिनुभयो । श्रमदानसहित यो आयोजनाको अनुमानित कूल लागत रु २६ करोड ८२ लाख ३० हजार ८३५ रहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा तीन वटा ट्याङ्की, चार वटा डिपिटी र तीन वटा वितरण च्याम्बर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै दुई हजार १०० मिटर मुख्य पाएप लाइन र ३७ हजार मिटर वितरण लाइन विस्तार गरिएको कार्यालयले जनाएको छ । दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब १५३ किलोमिटर रहेको कार्यालयले जनाएको छ । यो आयोजनाको काम आव २०७५÷७६ बाट थालनी भएको हो ।


