इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकाका हात्ती प्रभावित क्षेत्रमा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले साइरन जडान गरिएको छ ।
उज्यालो नेपाल संस्थाको सहकार्यमा नगरपालिकाका वडा नं। २, ३ र ७ का प्रभावित बस्तीमा साइरन जडान गरिएको हो । पूर्वी नेपालमा झापाको क्षेत्र हुँदै प्रवेश गर्ने जङ्गली हात्तीले वराहक्षेत्रस्थित वन तथा आरक्ष आसपासका बस्तीमा लामो समयदेखि समस्या सिर्जना गर्दै आएको छ । मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य हुने गरेको वराहक्षेत्र–२ का स्थानीय मदन कार्कीले बताउनुभयो । उज्यालो नेपालका कर्मचारी सुमन आचार्यका अनुसार पछिल्लो समय वराहक्षेत्रका बढी प्रभावित क्षेत्रमा टोलस्तरमा ‘हात्ती प्रतिकार टोली’ गठन गरी मानव–हात्ती द्वन्द्व न्यूनीकरणसम्बन्धी तालिमसमेत प्रदान गरिँदै आएको छ । प्रभावित बस्तीका स्थानीय तथा विद्यालयका विद्यार्थीलाई हात्तीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
पक्षी संरक्षणकर्मी विमल तिम्सिनाका अनुसार वराहक्षेत्रका वन तथा आरक्ष नजिकका बस्तीमा बसोवास गर्नेहरूका लागि पछिल्ला केही वर्ष सहज छैनन् । वनबाट निस्कने फिरन्ते जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयमा त्रास फैलिएको उहाँको भनाइ छ । स्थानीयका अनुसार हात्तीको समूह प्रायः साँझपछि बस्तीमा प्रवेश गर्ने गर्दछ । हात्तीले अन्नबाली नष्ट गर्ने, घरमा क्षति पुर्याउने तथा निरन्तर उपस्थितिका कारण स्थानीयवासी त्रसित हुने गरेका छन् । मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि उज्यालो नेपालले प्रभावित क्षेत्रका स्थानीयलाई समेटेर ‘रेस्पोन्स टोली’ गठन गरेको छ । हात्तीको गतिविधिबारे समयमै सूचना आदानप्रदान गर्न र स्थानीयलाई सचेत गराउन प्रभावित स्थानमा साइरन जडान गर्नुका साथै टर्चलाइटसमेत वितरण गरिएको आचार्यले बताउनुभयो ।
उहाँका अनुसार समुदायलाई हात्तीबाट सुरक्षित रहने उपाय, जोखिम व्यवस्थापन तथा समन्वयसम्बन्धी तालिमसमेत प्रदान गरिँदै आएको छ । उज्यालो नेपालको सहयोगमा पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको हो । वन क्षेत्रबाट हात्ती बस्तीतर्फ आउन लागेको जानकारी प्राप्त हुनासाथ साइरन बजाएर स्थानीयलाई सचेत गराउने व्यवस्था मिलाइएको छ । यसले मानवीय तथा वन्यजन्तुतर्फ हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हात्तीको परम्परागत आवतजावत मार्ग अवरुद्ध हुँदा बस्ती क्षेत्रमा हात्ती प्रवेश गर्ने गरेको संरक्षणकर्मीहरूको भनाइ छ । दीर्घकालीन समाधानका लागि हात्ती कोरिडोर संरक्षण, वासस्थान व्यवस्थापन तथा समुदायमा आधारित पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने तिम्सिनाले बताउनुभयो ।


