इटहरी । भोजपुरको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ ।
बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो । आयोजना सम्पन्न भएपछि यहाँको दीर्घकालीन पानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत हालसम्म २० घनमिटर क्षमताको एक पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका सबइन्जिनियर सञ्जीवकुमार यादवका अनुसार अब थप दुईवटा ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी रहेको छ । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०अनुसार यस आयोजनाको अनुमानित लागत करिब रु एक करोड रहेको छ ।
आयोजना सम्पन्न भएपछि बजार क्षेत्र पर्ने करिब २५ घरपरिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन् । स्थानीय बासिन्दाका अनुसार सुन्तले क्षेत्रमा वर्षात्को समयमा पानीको अभाव खासै नदेखिए पनि हिउँदका करिब पाँच महिना गम्भीर समस्या रहने गरेको छ । टाढाटाढाबाट पानी बोक्नुपर्ने बाध्यता, असुरक्षित स्रोतमा निर्भरता र समयको धेरै खर्च हुने भएकाले स्थानीयको दैनिकीमा चुनौती बनेको थियो । स्थानीय दशरथ राईले आयोजना सम्पन्नपछि यो समस्या स्थायी रूपमा समाधान हुने बताउनुभयो । त्यसैगरी, अर्का स्थानीय खगेन्द्रकुमार ओझाले विशेषगरी हिउँदयाममा पानी अभाव चरम हुने गरेको बताउनुभयो ।
पानी अभावमा यहाँ आउने पयर्टकलाई पनि असहजता हुने गरेकामा अब त्यो समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । लिफ्ट प्रविधिबाट सञ्चालन हुने यस आयोजनाले बस्तीभन्दा तल रहेको मुहानको पानीलाई मोटर प्रणालीमार्फत माथिल्लो बस्तीमा पुर्याइने छ । सुन्तले क्षेत्र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण बन्दै गइरहेको छ । यो आयोजना सम्पन्न भएपछि सुरक्षित, स्वच्छ र नियमित खानेपानी सुविधासँगै सुन्तले क्षेत्रको समग्र विकासमा पनि टेवा पुग्ने स्थानीयको भनाइ छ ।
स्वच्छ खानेपानीको उपलब्धताले पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने स्थानीयवासीले बताएका छन् ।


