इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यही असार ७ गतेका लागि गाउँसभा तथा अधिवेशन आह्वान गरेको छ ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी गाउँपालिकाले १९ औं गाउँसभा तथा अधिवेशन आह्वान गरेको हो । गाउँपालिका अध्यक्ष मानबहादुर राईले असार ७ गते आइतबारका लागि पालिकाको १९ औं गाउँसभा तथा अधिवेशन आह्वान गर्नु भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार अध्यक्ष राईले आह्वान गर्नुभएको गाउँसभा तथा अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । अधिवेशनमा सिदिङ्वा गाउँपालिकाको आर्थिक विधेयक २०८३, बिनियोजन विधेयक र मध्यकालिन खर्च संरचना २०८३र८४–२०८५र८६ पेश हुने भएको छ ।
यस्तै गाउँसभामा बिषयगत समिति सञ्चालन तथा व्यवस्थापन कार्यविधि, बेरुजु फस्र्योट कार्यविधि, अर्थ तथा सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि २०८३ पनि पेश हुने छ । प्रमुख प्रशासकीय अधिकृत सिवाका अनुसार सचिवालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि, स्थानीय अनुकूलन कार्ययोजना २०८३ पेश हुने छ । पालिकाको केही ऐन संशोधन विधेयक र सङ्गठन तथा व्यवस्थापन सर्बेक्षण २०८३ गाउँ सभामा पेश हुने छ ।
त्यस्तै अर्थ तथा सार्वजनिक लेखा समितिद्वारा पेश हुने नियमित गर्नुपर्ने बेरुजु फस्र्योट र अन्य विविध विषयमा छलफल हुने कार्यसूची रहेको गाउँपालिकाका लेखापाल भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो । सिदिङ्वासहित जिल्लाका नौवटै स्थानीय तहले असार १० गतेभित्र आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरिरहेका छन् ।


