इटहरी । सुनसरीको इनरुवा नगरपालिका–१ स्थित साह कृषि एग्रोभेटबाट खरिद गरिएको विषादीका कारण एक किसानको एक विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको जुटबालीमा क्षति पुगेको आरोप लागेको छ।
भोक्राहा नरसिंह गाउँपालिका–५ का किसान आलम अन्सारीले जुटबारीमा उम्रिएको घाँस नियन्त्रण गर्न भन्दै खरिद गरिएको विषादी छर्किएपछि घाँससँगै जुटबालीसमेत सुकेर नष्ट भएको गुनासो गर्नुभएको छ। उहाँले करिब तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको दाबी गर्दै क्षतिपूर्तिको माग गर्नुभएको छ। किसान अन्सारीले क्षतिपूर्तिको माग गर्दै सम्बन्धित एग्रोभेट, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र तथा वडा कार्यालयमा निवेदन दिएका छन्।
अरूको जग्गा अधियाबटिया तथा ठेक्कामा लिएर खेती गर्दै आएको उल्लेख गर्दै उहाँले महँगो बीउ, मल, विषादी, जोताइ तथा गोडमेलमा करिब एक लाख रुपैयाँ लगानी गरेको बताउनुभयो। भोक्राहा नरसिंह गाउँपालिका–५ का वडाध्यक्ष हबिब मन्सुरीले घटना भएको करिब तीन सातापछि पनि बाली जोगाउन विभिन्न उपाय अपनाइए तापनि सफल हुन नसकेको बताउनुभयो। वडाध्यक्ष मन्सुरीका अनुसार किसान अन्सारीले कि।नं। ३४९, ३४७ र ५६० नम्बरका जग्गामा लगाएको जुटबालीमा इनरुवा नगरपालिका–१ स्थित साह कृषि एग्रोभेटबाट खरिद गरिएको घाँस नियन्त्रण गर्ने विषादी प्रयोग गरेका थिए। तर घाँस नष्ट हुनुको सट्टा बाली नै सुक्न थालेको स्थलगत निरीक्षणका क्रममा देखिएको उहाँले जानकारी दिनुभयो।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले घटनाबारे जानकारी प्राप्त भएको र आवश्यक प्रक्रिया तथा सम्बन्धित निकायमा जान किसानलाई सुझाव दिइएको बताउनुभयो। यता, साह कृषि एग्रोभेटका सञ्चालक जयकुमार साहले विषादी प्रयोगपछि देखिएको समस्याबारे प्राविधिक तथा विज्ञ टोलीले स्थलगत अध्ययन गरिसकेको जानकारी दिनुभयो।


