इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नागीका १२ वर्षदेखि घरबारविहीन अवस्थामा जीवन बिताइरहेका टेकबहादुर सार्की र उनकी श्रीमती सरिता सार्कीले अब आफ्नै सुरक्षित घरमा बस्ने अवसर पाएका छन्।

हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको भूकम्प प्रतिरोधी घर शुक्रबार परिवारलाई हस्तान्तरण गरेको छ। विगत लामो समयदेखि आफ्नै बसोबासको व्यवस्था नभएका सार्की दम्पती छिमेकीको घरमा आश्रय लिएर जीवनयापन गर्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएका कारण घर निर्माण गर्न नसकेका उनीहरूको परिवारले विभिन्न कठिनाइ भोग्दै आएको थियो। यसैबीच, गत वर्ष साउन २९ गते उनीहरूकी १२ वर्षीया छोरी अरूकै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि परिवार थप शोक र पीडामा परेको थियो। उक्त घटनापछि नगरपालिकाले पीडित परिवारलाई राहतस्वरूप २० हजार रुपैयाँ नगद तथा खाद्यान्न सामग्री उपलब्ध गराएको थियो।

त्यही क्रममा नगरपालिकाले परिवारका लागि सुरक्षित घर निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो।  सोही प्रतिबद्धताअनुसार नगरपालिकाले भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न गरी परिवारलाई हस्तान्तरण गरेको हो। घर हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख विमला राईले घरबारविहीन नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताइन्। उनले नगरभित्र अझै पनि घरविहीन अवस्थामा रहेका अन्य दुई परिवारका लागि समेत घर निर्माण गरी चाँडै हस्तान्तरण गरिने जानकारी दिइन्।

नगर प्रमुख राईले गाउँ छाडेर अन्यत्र गएका नागरिकलाई पनि गाउँमै फर्केर सुरक्षित बसोबास गर्न सक्ने वातावरण निर्माण गर्न नगरपालिका प्रतिबद्ध रहेको बताइन्। नयाँ घर पाएपछि टेकबहादुर सार्कीको परिवार भावुक बनेको थियो। घर हस्तान्तरणपछि टेकबहादुरकी श्रीमती सरिताले वर्षौंदेखिको पीडा अन्त्य भएको बताउँदै खुसी व्यक्त गरिन्।   नगरपालिकाको यो पहलले घरबारविहीन तथा विपन्न परिवारको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने स्थानीयवासीले बताएका छन्।