इटहरी । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गतको जीएटी (GAT) एरिया–४ को एरिया कन्फ्रेन्स इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। एरिया चिफ भोजराज दाहालको अध्यक्षतामा आयोजित सम्मेलनमा विभिन्न लायन्स क्लबहरूले वर्षभरि गरेका सामाजिक सेवामूलक गतिविधिहरूको समीक्षा तथा अनुभव आदानप्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन एरिया कोअर्डिनेटर टङ्क फुयालले गर्नुभएको थियो। तीन रिजन, सात जोन र २८ वटा क्लब समेटिएको एरिया–४ अन्तर्गतका सातवटै जोनले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सम्मेलनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, मानव सेवा तथा सामुदायिक विकासका क्षेत्रमा भएका उल्लेखनीय कार्यहरूको समीक्षा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एरिया चिफ भोजराज दाहालले एरिया–४ अन्तर्गत रहेका क्लबहरूले यो लायन्स वर्षमा १४ जना विद्यार्थीलाई कक्षा १० सम्म सम्पूर्ण पढाइको जिम्मेवारी सहित १ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम सामाजिक सेवामा खर्च गरी हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताउनुभयो। उहाँले लायन्स अभियान केवल संस्था केन्द्रित नभई मानव सेवाको महान अभियान भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी सामाजिक कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो।

“समाजमा सकारात्मक परिवर्तन ल्याउन स्वयंसेवाको भावना आवश्यक छ। एरिया–४ अन्तर्गतका क्लबहरूले एकताबद्ध भएर शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा उदाहरणीय काम गरेका छन्। आगामी वर्षहरूमा अझ व्यापक र दिगो प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ,” दाहालले भन्नुभयो।

सम्मेलनका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर बबरजंग थापाले लायन्सकर्मीहरूको सक्रियताले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताउँदै सेवामूलक अभियानलाई अझ सशक्त बनाउन आग्रह गर्नुभयो। विशिष्ट अतिथिहरू पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी, लीला ढुंगेल, भाइस गभर्नर लीलाप्रसाद चिमोरिया तथा रमेश खत्रीले लायन्सको सामाजिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभएको थियो।

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवस पोखरेल, सुन्दरहरैंचाका पूर्व जनप्रतिनिधि शैलेन्द्र श्रेष्ठ, विभिन्न एरियाका एरिया चिफहरू, लायन्स लिडरहरू, समाजसेवी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मेलनले सामाजिक सेवामा समर्पित लायन्स क्लबहरूको योगदानलाई थप सुदृढ बनाउँदै आगामी वर्षका लागि नयाँ कार्ययोजना र प्रतिबद्धतासहित समापन भएको आयोजकले जनाएको छ।