विराटनगर । कोशी प्रदेश सुरक्षा परिषद्को बैठक आज आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय इन्द्रमणि पराजुलीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री माननीय उमाकान्त गौतम, कोशी प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव तथा प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी मोरङ, झापा र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू तथा सुरक्षा प्रशासनसँग सम्बन्धित अन्य सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो। बैठकमा कोशी प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था, सुरक्षा चुनौती, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सुरक्षा निकायहरूबीचको समन्वयका विषयमा छलफल भएको बताइएको छ। प्रदेशमा शान्ति, सुरक्षा र सुशासनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच सहकार्य र समन्वयलाई सुदृढ गर्ने विषयमा समेत बैठकमा जोड दिइएको थियो।

मुख्यमन्त्री कार्कीले प्रदेशको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै नागरिकलाई सुरक्षित र भरपर्दो वातावरण प्रदान गर्न सबै सुरक्षा निकायले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताउनुभयो। अध्यक्षता गर्दै मन्त्री पराजुलीले प्रदेश सरकार सुरक्षा व्यवस्थापन, विपद् प्रतिकार्य तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। बैठकले प्रदेशको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।

