रामधुनी, सुनसरी । रामधुनी नगरपालिकाले नगरप्रमुख शंकरलाल चौधरीलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाएर नगरप्रमुखले व्यक्तिगत प्रयोजनका लागि नगरपालिकाको रकम खर्च गरेको, होटल तथा भ्रमण खर्चमा अनियमितता गरेको भन्ने आशयका समाचारहरू तथ्यहीन र भ्रामक रहेको नगरप्रमुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नगरपालिकाका अनुसार सार्वजनिक भएका खर्चहरू नगरप्रमुखको व्यक्तिगत प्रयोजनका लागि नभई नगरपालिका तथा नगरवासीको प्रतिनिधित्व गर्दै विभिन्न औपचारिक, धार्मिक, सांस्कृतिक, अन्तरपालिका अवलोकन भ्रमण, अतिथि सत्कार तथा सरकारी निकायहरूसँगको समन्वयका क्रममा भएको प्रशासनिक तथा कार्यक्रमगत खर्च हुन्। यस्ता खर्चहरू स्वीकृत बजेट, कार्यक्रम तथा कानुनी प्रक्रियाअनुसार गरिएको दाबी नगरपालिकाको छ।
विज्ञप्तिमा बेरुजु देखिनु भनेको अनियमितता प्रमाणित हुनु नभएको उल्लेख गर्दै आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि बेरुजु फर्छ्योट हुने बताइएको छ। विगत वर्षदेखि फर्छ्योट हुन बाँकी रहेका बेरुजुका कारण कुल बेरुजु रकम बढी देखिएको भए पनि त्यसको फर्छ्योटका लागि नगरपालिका सक्रिय रहेको जनाइएको छ। रामधुनीलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले अयोध्या भ्रमण गरिएको र सो भ्रमणका लागि नियमानुसार पेश्की लिइएको पनि नगरपालिकाले स्पष्ट पारेको छ। उक्त भ्रमणले रामधुनीलाई रामसर्किटमा समावेश गराउने अभियानलाई सहयोग पुगेको दाबी गरिएको छ।
नगरप्रमुखको सचिवालयले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकपक्षीय तथा भ्रामक ढंगले सामग्री प्रकाशन–प्रसारण गरिएको भन्दै त्यसले नगरपालिकाको संस्थागत छवि र जनप्रतिनिधिको प्रतिष्ठामा आँच पुर्याएको जनाएको छ। रामधुनी नगरपालिका सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र सार्वजनिक जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता विषयमा भ्रममा नपर्न नगरवासीलाई आग्रह गरिएको छ।


