दमक । नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको विस्तारित बैठक दमकस्थित थकाली किचेनमा सम्पन्न भएको छ। महासङ्घका कोशी प्रदेश अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष परशुराम बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीले खेल क्षेत्रको विकासका लागि संगठनात्मक एकता, अनुशासन र सक्रियताको आवश्यकता औंल्याउनुभयो। उहाँले खेलकुदलाई सामाजिक रूपान्तरण, युवाको नेतृत्व विकास तथा राष्ट्र निर्माणसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

विशिष्ट अतिथि तथा नेपाल खेलकुद महासङ्घका केन्द्रीय महासचिव धरम बहादुर लामाले महासङ्घलाई सबै तहमा अझ प्रभावकारी र चलायमान बनाउन प्रदेश, जिल्ला तथा स्थानीय तहका कमिटीबीच समन्वय र सक्रियता बढाउनुपर्ने बताउनुभयो। उहाँले संगठन विस्तारसँगै खेलकुद गतिविधिलाई जनस्तरसम्म पुर्याउने अभियानलाई तीव्रता दिने उल्लेख गर्नुभयो।

बैठकमा प्रदेश अध्यक्ष रोहित कोइरालाले केन्द्रीय कमिटीको सर्कुलर वाचन गर्दै संगठनलाई थप सुदृढ, व्यवस्थित र चलायमान बनाउन प्रदेश, जिल्ला तथा नगर कमिटीहरूलाई सक्रिय रूपमा परिचालन गरिने जानकारी दिनुभयो। उहाँले खेलकुद क्षेत्रको समग्र विकासका लागि महासङ्घले नीति, कार्यक्रम र संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले कोशी प्रदेशमा खेलकुद पूर्वाधार विकास, प्रतिभा पहिचान, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलमैत्री वातावरण निर्माणका लागि महासङ्घले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

यस अवसरमा हालै विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। साथै बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, बोर्ड सदस्य ईश्वरविक्रम शाह, बिना बस्नेत लगायत पदाधिकारी तथा सदस्यहरूलाई समेत सफल कार्यकालको शुभकामना दिइएको थियो।
कार्यक्रममा महासङ्घका केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले संगठनलाई अझ मजबुत बनाउँदै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए।


