इटहरी । बराहक्षेत्र नगरपालिका वडा नम्बर–९ मा बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ लागुऔषध, बालविवाह र बालश्रम विरुद्ध बृहत् र्याली तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
बराहक्षेत्र वडा नं. ९ वडा कार्यालयको आयोजना तथा सरस्वती संरचना वडा बाल सञ्जालको सहजीकरणमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा वडा बाल सञ्जालमा आबद्ध तथा स्थानीय विद्यालयका गरी ४ सयभन्दा बढी बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले “लागुऔषध, बालविवाह र बालश्रम अन्त्य गरौं“ जस्ता नाराका साथ राजवास बजार तथा आसपासका क्षेत्र परिक्रमा गर्दै सचेतनामूलक सन्देश प्रवाह गरेका थिए ।
युवापुस्तालाई दुव्र्यसनबाट टाढा राखी सभ्य, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने तथा बालहिंसा, घरेलु हिंसा, बालविवाह र बालश्रम जस्ता सामाजिक विकृति न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा बराहक्षेत्रकी नगर उपप्रमुख नन्दकुमारी सुनुवार, स्थानीय जनप्रतिनिधि, नगर तथा वडा बाल सहजकर्ता, महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, सञ्चारकर्मी र प्रहरी चौकी प्रकाशपुरको विशेष उपस्थिति एवं सहयोग रहेको थियो।
यस अभियानले स्थानीय स्तरमा बालअधिकार र सामाजिक सुधारका लागि महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।


