उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा न्यायिक समितिको कामकारबाही, सेवा प्रवाह तथा विवाद समाधान प्रक्रियाको प्रभावकारिता मूल्याङ्कन गर्न निरीक्षण तथा अनुगमन कार्य सम्पन्न भएको छ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, सर्वोच्च अदालतका सह रजिस्ट्रार दीपक भण्डारी, जिल्ला अदालत न्यायाधीश दुर्गा बहादुर भुसाल, मेघनाथ चौलागाईं साथै उच्च अदालत (पुनरावेदन अदालत) का न्यायाधीश तथा न्याय प्रशासनसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो। निरीक्षणका क्रममा न्यायिक समितिको अभिलेख व्यवस्थापन, उजुरी दर्ता तथा फर्छ्यौट प्रक्रिया, मेलमिलापको अभ्यास, सेवा प्रवाहको अवस्था र कानुनी प्रक्रियाको पालना लगायतका विषयमा अवलोकन गरिएको थियो।

उक्त अवसरमा उर्लाबारी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना कुमारी खतिवडा पौडेलले स्थानीय तहमा न्यायिक समितिले नागरिकलाई सहज, छिटो र सुलभ न्याय प्रदान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले न्यायिक समितिमार्फत समुदायस्तरमै विवाद समाधान हुँदा अदालतसम्म पुग्नुपर्ने झन्झट कम हुनुका साथै सामाजिक सद्भाव कायम राख्न समेत सहयोग पुगेको उल्लेख गर्नुभयो।

“नागरिकले आफ्नो घरआँगन नजिकै न्याय पाउन सक्ने वातावरण सिर्जना गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो,” उपप्रमुख पौडेलले भन्नुभयो, “न्यायिक समितिको क्षमता अभिवृद्धि, अभिलेख व्यवस्थापनको सुधार र कानुनी सचेतना विस्तारमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने हाम्रो प्रयास निरन्तर जारी छ।”

निरीक्षण टोलीले न्यायिक समितिले स्थानीय तहमा विवाद समाधान, मेलमिलाप प्रवर्द्धन तथा न्यायमा नागरिकको पहुँच विस्तारका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै अभिलेख व्यवस्थापन, क्षमता विकास र कानुनी प्रक्रियालाई थप व्यवस्थित बनाउन सुझाव दिएको थियो।

IMG-20260613-WA0083

कार्यक्रममा न्यायिक समितिका पदाधिकारी, नगरपालिकाका कर्मचारी, मेलमिलापकर्ताहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्थानीय तहको न्याय सम्पादन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन यस्ता निरीक्षण तथा अनुगमन कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमले स्थानीय तहको न्यायिक प्रणालीलाई थप सुदृढ, उत्तरदायी र विश्वासिलो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको नगरपालिका प्रमुख प्रशासकी अधिकृत अभय प्रसाद गुप्ताले बताउनुभयो । कार्यक्रममा न्यायक समितिका पदाधिकारी सदस्यहरू कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।