इटहरी । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार र आइतबार विभिन्न स्थानमा गरेको अपरेशनका क्रममा ३५ जना लागूऔषध सेवनकर्ता र छ जना प्रतिबन्धित लागुऔषधसहित ४१ व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता विजय चौहानका अनुसार पक्राउ परेकाबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेका सेवनकर्तालाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकताअनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने तयारी गरिएको छ । झापामा पछिल्लो समय लागुऔषध कारोबार र सेवन बढ्दै जाँदा नियन्त्रणका लागि प्रहरीले निगरानी र अपरेशनलाई तीव्र बनाएको चौहानले बताउनुभयो ।उहाँका अनुसार एक हजारको लागुऔषध सेवन गर्न आइफोन धरौट राखेको समेत पाइएको छ। दुईवटा आइफोन सहित यस्तो कार्यमा संलग्नलाई पनि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।लागुऔषध कारोबारीले प्रयोगकर्ताबाट मोबाइल, घडी, गरगहना तथा मोटरसाइकलजस्ता सामान बन्धक राखेर लागुऔषध दिने गरेको तथ्य खुलेसँगै नयाँ तवरले अनुसन्धान सुरु गरेको छ ।

सामान बन्धक राखेर लागुऔषध कारोबार गर्ने आरोपमा शिवसताक्षी नगरपालिका–७ का सुरज ढकाल ९४०० र सन्दीपहाङ लिङ्देन ९३१० पक्राउ गरिएको चौहानले बताउनुभयो । उनीहरूको साथबाट प्लास्टिकबाहेक १२ ग्राम १०० मिलिग्राम ब्राउन सुगर, एक लाख एक हजार ९०० नगद, २१ थान मोबाइल फोन र दुई वटा घडी बरामद भएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा बरामद गरिएका मोबाइल र घडीहरू लागुऔषध सेवनकर्ताले लागुऔषधको सट्टा बन्धक राखेको खुलेको छ ।

बरामद मोबाइलमध्ये दुईवटा आइफोन समेत रहेका छन ।पाँच सयदेखि पाँच हजार रुपियाँसम्मको लागुऔषध लिनका लागि ती मोबाइल बन्धक राखिएको हुन सक्ने प्रहरीको अनुमान छ ।