इटहरी । इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन् । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन् ।
अहिले भारतीय बजारमा पुगिसकेको ३ लाख किलोभन्दा धेरै र नेपालका उद्योगहरूमा ७ लाख किलो तयारी चिया थन्किएको छ । भारतीय भन्सारमा नेपाली चियाको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन् ।
मौज्दात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष डिल्ली श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आजैदेखि बन्द भएका छन् । तराईका सीटीसी चिया उद्योगहरू असार ४ गतेदेखि बन्द हुनेछन् । नेपालमा उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।
चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीहरूको गुनासो गरेका छन् । उद्योग बन्द हुँदा हजारौँ मजदुर र हरियो पत्ती बेच्ने किसानहरू प्रत्यक्ष मारमा परेका छन् ।


