इटहरी । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजन तथा कोशी प्रदेश पौडी संघको आयोजनामा आगामी असार १४ र १५ गते इटहरीस्थित अक्सिजन पार्क एन्ड रिसोर्ट प्रालिको सेमी ओलम्पिक स्विमिङ पुलमा कोशी प्रदेश स्तरीय खुला पौडी प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश पौडी संघका पदाधिकारीहरूले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका पौडी खेलाडी तथा खेलप्रेमीहरूको सहभागिता रहने जानकारी दिएका हुन्। कोशी प्रदेशमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगितामा महिला तथा पुरुष गरी करिब १८० खेलाडी सहभागी हुनेछन् भने विभिन्न २१ विधामा प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगिता ‘पोइन्ट सिस्टम’का आधारमा सञ्चालन हुने र प्रथम, द्वितीय तथा तृतीय हुने टिमलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै प्रत्येक इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रो स्थानका खेलाडीलाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
जिल्लाबाट सहभागी खेलाडी तथा टिम व्यवस्थापकहरूका लागि दुईतर्फी यातायात भाडा, खेल पोसाक, खाना तथा आवासको व्यवस्था गरिएको छ। नेपाल पौडी संघको सहयोगमा उत्कृष्ट तथा उर्जाशील खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिने कार्यक्रम समेत रहेको छ।
पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बर बहादुर तामाङले प्रतियोगिताले प्रदेशमा पौडी खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रदेशभर रहेका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
अध्यक्ष तामाङले पौडी खेललाई विद्यालय तहदेखि समुदायस्तरसम्म विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै खेलकुदको माध्यमबाट युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ उन्मुख गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। “कोशी प्रदेशलाई पौडी खेलको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो। यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी आवश्यक प्रशिक्षण र अवसर उपलब्ध गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रदेशको गौरव बढाउने दिशामा हामी अघि बढिरहेका छौं,” उहाँले भन्नुभयो।
कार्यक्रम संयोजक तथा कोशी प्रदेश पौडी संघका उपाध्यक्ष रमेश कुमार तामाङले प्रतियोगिताले प्रदेशका खेलाडीहरूको प्रतिभा प्रस्फुटनसँगै पौडी खेलको थप प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनमा संघका पदाधिकारी, खेलकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


