इटहरी । धनकुटाको धनकुटा नगरपालिका –४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा सोमबार बिहान दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका –९ झुम्का घर भइ हाल धनकुटा नगरपालिका –७ सब्जीलाइन बस्दै आउनुभएका ५५ वर्षीय विशाल चौधरी रहनुभएको छ । जिल्ला अस्पताल धनकुटामा बिहान ९ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा परेर धनकुटा नगरपालिका –१ हिलेका ३२ वर्षीय श्याम तामाङ घाइते हुनु भएको छ । घाइते तामाङलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ७ः३० बजे धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको को २५ प १७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएस्पी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

