इटहरी। बर्सौंयता भारत निर्यात हुँदै आएको नेपाली चिया निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै इलामका ५३ चिया उद्योगले किसानबाट हरियो पत्ती खरिद गर्न छाडेका छन् । 

गत जेठ ३० गते नै सूचना निकालेर उद्योगले असार १ गतेबाट किसानको हरियो पत्ती नलिने जानकारी गएका थिए ।  यस अनुसार माईखोलावारिका सबै कारखाना बन्द भएका छन् भने माईपारि इलाम नगरपालिका, देउमाई नगरपालिकासहितका १२ वटा उद्योग बन्द भएका छन् । मङ्गलबारदेखि माईपारिका थप १५ उद्योग बन्द हुने बताइएको छ । पछिल्लो समय भारतको टी बोर्डले भारत आयात हुने चियामा कडाइ गर्दै ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर’ लागु गर्दै प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि भारत पुगेको नेपाली चिया पनि उतै रोकिएको व्यवसायीको भनाइ छ । भारतीय टी बोर्डले गएको मे १ देखि भारत आयात हुने चियामा कडाइ गरेको हो । 

जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको दुई लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै थन्किएको र नमुना परीक्षणका लागि लगिएको चियाको महिना दिनसम्म रिपोर्ट नदिएको उद्योगीको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन नेपालले जनाएको छ । उक्त नमुनाको रिपोर्ट गुणस्तरहीन देखिएमा उक्त चिया भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियम थपिएको एसोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसअघि अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणीकरण भएर तेस्रो मुलुक निकासी भइरहेको चियामा भारतले दोष देखाएको उद्योगीको भनाइ छ । कट्टेलका अनुसार उद्योगहरूले सोमबारदेखि किसानको हरियो पत्ती नलिने सूचना गरेर जेठ ३१ गतेकै चियाको काम मात्र सोमबार ९आज० गरिएको जानकारी दिनुभयो । उहाँले सरकारलाई दबाबभन्दा पनि बाध्यताले भोलिदेखि उद्योगहरू पूर्ण बन्द हुने जानकारी दिनुभयो । इलामका चिया उद्योगमा अहिले १० लाख किलोभन्दा बढी तयारी चिया गोदममा थन्किएको जनाइएको छ । 

वार्षिक दुई करोड किलो चिया उत्पादन हुने झापामा भने आउँदो असार ४ गतेदेखि उद्योगले किसानबाट हरियो पत्ती नलिने भएका छन् । नेपाल चिया उत्पादन सङ्घका अध्यक्ष आदित्य पराजुलीले असार ४ गतेदेखि झापामा रहेका ३० चिया उद्योगले हरियो पत्ती नलिने निर्णय गरेको जानकारी दिनुभयो ।  

पराजुलीले पहिला भारतको फसाइले ५८ वटा अनुसूची राखेर नेपाली चिया जाँच गर्ने गरेकोमा यस पटकदेखि १६० वटा अनुुसूची अन्तर्गत जाँच गर्ने गरेको बताउनुभयो ।  त्यसो त सरकारले नेपाली चिया निर्यातको विषयमा नसुनेको भने होइन । इलाम, झापा र अन्य क्षेत्रबाट समेत प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यले पटक पटक संसद्मा चिया समस्या, निर्यात र उद्योग बन्दका विषय उठाउने गरेका छन् । सरकारले भने चासो नदिएपछि चिया व्यवसायी सडकबाट थप आन्दोलन तयारी गर्ने चरणमा रहेको बताइएको छ ।