इटहरी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताउनुभएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लिङ्थेपले सुशासन र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताउनुभएको हो । उहाले निकट भविष्यमा प्रदेश सरकार परिवर्तन हुन सक्ने भएपनि बजेटको कार्यान्वयनलाई कुनै असर नपर्ने समेत बताउनुभयो ।
लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित र बजेट कार्यान्वयनलाई थप जिम्मेवार र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौता गरिने भएकाले कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुकुल मौसम, नीतिगत स्थिरता, कृषि र उद्योग, पूर्वाधार र पर्यटन क्षेत्रमा गरिने लगानीबाट आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभयो ।
कोशी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष ०८३÷८४ का लागि ४० अरब ४४ करोड ९८ लाख रुपैया बराबरको बजेट ल्याएको थियो ।


