इटहरी । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ दुहागढीमा कोभिड–१९ महामारीका बेला २५ करोड रुपियाँ लागतमा निर्माण भई हाल बेवारिसे अवस्थामा रहेको कोशी प्रदेशस्तरीय होल्डिङ सेन्टर अब सुधार गृह तथा पुनःस्थापना केन्द्रका रूपमा सञ्चालन गरिने भएको छ ।
एक हजार जनालाई एकै पटक आवासीय सेवा दिन सक्ने क्षमता रहेको उक्त सेन्टर निर्माण सम्पन्न भएको लामो समयसम्म प्रयोगविहीन बनेको थियो । कोभिड सङ्क्रमित वा शङ्कास्पद व्यक्तिलाई व्यवस्थापन गर्ने उद्देश्यले बनाइएको सेन्टर सञ्चालनको जिम्मेवारी कसले लिने भन्ने अन्योलका कारण प्रयोगमा आउन सकेको थिएन । यो प्रयोगमा आउन नसकेपछि राज्यको करोडौँको लगानी भएको संरचना बेवारिसे भएको भन्दै बारम्बार आवाज उठ्दै आएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसको उच्चतम सदुपयोग गरिने बताउँदै आउनुभएको थियो । उहाँले यसलाई सुधार केन्द्रका रूपमा अघि बढाउनका लागि पटक–पटक सरोकारवालाहरूसँग छलफल पनि गर्नुभएको जनाइएको छ ।
यसैअनुसार सोमबार कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट सार्वजनिक गर्दै मेचीनगरस्थित होल्डिङ सेन्टरलाई सुधार गृह तथा पुनःस्थापना केन्द्रमा रूपान्तरण गर्ने घोषणा गरेको छ । बजेटमा रङ्गेलीस्थित होल्डिङ सेन्टरलाई समेत पुनःस्थापना केन्द्रका रूपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । चार बिघा क्षेत्रफलमा फैलिएको सेन्टरमा २२ वटा अत्याधुनिक भवन, १४ क्वारेन्टिन ब्लक, स्वास्थ्यकर्मी आवास, डाइनिङ हल, भान्सा र शौचालय भवन रहेका छन् । यसैगरी खानेपानी, विद्युत्, सडक तथा अन्य आधारभूत पूर्वाधारसमेत तयार अवस्थामा रहेकाले आवश्यक परे तत्काल सञ्चालन गर्न सकिने अवस्था छ ।
वर्षौंदेखि प्रयोगविहीन बनेको संरचनालाई अब सुधार गृह तथा पुनःस्थापना केन्द्रका रूपमा उपयोग गर्ने निर्णयसँगै करोडौँको सरकारी लगानी सदुपयोग हुने अपेक्षा गरिएको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । यस कार्यमा स्थानीय सरकार लागिपर्ने पनि उहाँको भनाइ छ ।


