इटहरी । इटहरी उपमहानगरपालिका–३ को गैरीटोलस्थित सिंहदेवी आधारभूत विद्यालयको भौतिक तथा शैक्षिक अवस्था पछिल्ला वर्षहरूमा सुधार हुँदै गएको छ।

वि।सं। २०४९ सालमा स्थापना भएको विद्यालय सुरुआती चरणमा बाँस र काठको संरचनामा सञ्चालन हुँदै आएको थियो। हाल भने पक्की भवनसहित व्यवस्थित विद्यालयका रूपमा विकास भइरहेको छ। विद्यालयमा हाल ४५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। स्थापना कालमा विद्यालयमा १५० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने गर्दथे। विद्यालयमा २०५५ सालदेखि शिक्षण पेसामा आबद्ध जितबहादुर तामाङ हाल प्रधानाध्यापकको जिम्मेवारीमा छन्। दुई वर्षअघि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका तामाङको नेतृत्व र शिक्षकहरूको मेहनतले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन आएको स्थानीयहरू बताउँछन्।

हाल विद्यालयमा ६ जना शिक्षक र एक जना कर्मचारी कार्यरत छन्। विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा स्थानीय सरकारको पहलमा विद्यालयको भौतिक पूर्वाधार विस्तार भइरहेको छ। प्रदेश सरकारको सहयोगमा दुई कोठे नयाँ भवन निर्माणाधीन रहेको छ भने दाताहरूको सहयोगमा बालबालिकाका लागि खेलकुद सामग्री तथा खेलमैदानसमेत व्यवस्थापन गरिएको छ। स्थानीय अभिभावक खेलबहादुर बस्नेतका अनुसार विद्यालयको अवस्था विगतको तुलनामा धेरै सुधार भएको छ। स्थानीय सरकारको निरन्तर सहयोगका कारण विद्यालयको वातावरण आकर्षक बन्दै गएको उनले बताए।

प्रधानाध्यापक जितबहादुर तामाङले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूबीच नियमित छलफल र समन्वय भइरहेको जानकारी दिए।  स्थानीय सरकारबाट आवश्यक सहयोग प्राप्त भइरहेको उल्लेख गर्दै उनले विद्यालयहरूको नियमित अनुगमनमा सरकारी निकायको ध्यान जानुपर्ने आवश्यकता औंल्याए।  पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवि ओझाले विद्यालयको अवस्था एक समय निराशाजनक रहे पनि व्यवस्थापन समिति, शिक्षक र समुदायको संयुक्त प्रयासले विद्यालयको मुहार फेरिएको बताए। अभिभावकहरूले आफ्ना बालबालिकाको शिक्षाप्रति थप चासो दिनुपर्नेमा उनले जोड दिए। आगामी दिनमा पनि विद्यालयको विकासका लागि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

हाल विद्यालयमा विद्युत्, खानेपानीको ट्यांकी, शौचालय, डेस्क–बेन्च तथा खेलकुद सामग्रीजस्ता आधारभूत सुविधा उपलब्ध छन्। यी सुविधाहरूको व्यवस्थापनमा स्थानीय सरकारको महत्वपूर्ण योगदान रहेको विद्यालय पक्षको भनाइ छ। स्थानीय सरकार परिवर्तन भए पनि सामुदायिक विद्यालयहरूको विकास र शैक्षिक गुणस्तर सुधारमा सरकारी ध्यान निरन्तर केन्द्रित हुनुपर्ने स्थानीयवासीहरूको अपेक्षा रहेको छ।