इटहरी । लागू पदार्थ तथा मदिरा सेवनका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा–३ स्थित गछिया युवा समाजको आयोजनामा चालकहरूलाई लक्षित गरी लापसे ९लागूपदार्थ सेवन० तथा मापसे ९मादक पदार्थ सेवन० चेकजाँच तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धताू भन्ने नारासहित आयोजित कार्यक्रममा १०० जनाभन्दा बढी सवारी चालकहरूको लापसे तथा मापसे परीक्षण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी गछिया तथा ट्राफिक प्रहरी पोस्ट गछियाको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रममा विराटनगर, धरान लगायत पूर्वी क्षेत्र तथा पूर्वी पहाडी जिल्लाहरूबाट आवतजावत गर्ने सवारी साधनका चालकहरूलाई लक्षित गरी लापसे तथा मापसे परीक्षण गरिएको थियो। विशेषगरी पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने चालकहरूको चेकजाँच गरी सुरक्षित सवारी सञ्चालनका लागि आवश्यक सचेतना समेत प्रदान गरिएको आयोजकले जनाएको छ। यस अभियानमार्फत चालकहरूमा जिम्मेवारीबोध अभिवृद्धि गर्दै सडक दुर्घटना न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य राखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि देवराज तामाङले सडक सुरक्षाका लागि चालकहरूको सचेतना सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए। उनले लागू पदार्थ वा मदिरा सेवन गरेर सवारी चलाउनु आफैं र अरूको ज्यान जोखिममा पार्ने कार्य भएकाले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गरे। युवाहरूको सक्रियतामा सञ्चालन हुने सामाजिक अभियानहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वाससमेत उनले व्यक्त गरे। त्यसैगरी, गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले समाजमा बढ्दो सडक दुर्घटना र लागू पदार्थ दुर्व्यसनको समस्यालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
उनले सुरक्षित समाज निर्माणका लागि युवाहरूले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै चालकहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले परीक्षण अभियान सञ्चालन गरिएको बताए। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो। कार्यक्रममा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका कोशी प्रदेश प्रहरी अस्पताल, इनरुवाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० डा। अनुज श्रेष्ठले लागू पदार्थ तथा मदिरा सेवनले चालकको निर्णय क्षमता, एकाग्रता र प्रतिक्रिया समय कमजोर बनाउने बताए। उनले दुर्घटना न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुनी निगरानी आवश्यक रहेको उल्लेख गर्दै सुरक्षित यात्राका लागि चालक स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागी चालकहरूले समेत यस्तो परीक्षण तथा सचेतनामूलक अभियानले आफूहरूलाई थप जिम्मेवार, अनुशासित र सचेत बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए।
गछिया युवा समाजका अनुसार लागू पदार्थ दुर्व्यसन नियन्त्रण, सुरक्षित यात्रा प्रवर्द्धन तथा सडक दुर्घटना न्यूनीकरणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन्। कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय बुद्धिजीवी, सामाजिक अभियन्ता, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
युवाको सक्रियता, प्रहरीको सहकार्य र समाजको सहभागिताले सुरक्षित यात्राको सन्देश फैलाउने यो अभियान गछिया क्षेत्रमा उदाहरणीय र प्रशंसनीय पहलका रूपमा हेरिएको छ।


