इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा जेठ महिनामा साढे छ्यालिस लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार एक महिनाको अवधिमा सो भेटी रकम सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गर्नुभएको विवरणअनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६०० रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आउने भक्तजनले दान गरेका र भेटीबापत चढाएको रकम समितिले सङ्कलन गर्ने गरेको छ । जेठ महिनामा सङ्कलन भएको भेटी रकम मङ्गलबार साँझ सार्वजनिक गरेको छ । भेटीबापत सङ्कलित उक्त रकम नेपाल बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि समितिका पदाधिकारीको भनाइ छ ।
समितिले पाथीभरामा सङ्कलन हुने भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्ने गरेको छ । यसअघि बैशाख महिनामा एक करोड ६ लाख २८ हजार रुपियाँ सङ्कलन भएको थियो । यस्तै, जेठ महिनामा आठ हजार ३८७ जना भक्तजनले पाथीभराको दर्शन गरेको समितिले जनाएको छ ।
पाथीभरा दर्शन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन आउने गरेको समितिका पदाधिकारीहरुको भनाइ छ ।


