इटहरी । सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोशी गाउँपालिका वडा नं।–१ स्थित भन्सार गेटबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको जनाएको छ । शङ्कास्पद मानिसहरु र सवारीसाधनलाई चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगर सहित चारजनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार पक्राउ पर्नेमा प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटर चालक इटहरी उपमहानगरपालिका वडा नं।४ का ४३ वर्षीय बिशे चौधरी र स्कुटरमा पछाडि सवार भुप नारायण चौधरी, को। ३० प। ४५०९ नम्बरको मोटरसाइकल चालक धरान उपमहानगरपालिका वडा नं।–१६ का ३० वर्षीय एलिन जंग राणा र पछाडि सवार धरान–११ का ३१ वर्षीय सन्देश लिम्बू रहेका छन् ।
इटहरीका बिशे चौधरीले मलद्वार भित्र लुकाई छिपाई रखेको अवस्थामा सात दशमलव ५२ ग्राम र सन्देश लिम्बुले मलद्वार भित्र लुकाई राखेको अवस्थामा १२ दशमलव ६५ ग्राम सहित जम्मा २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चारैजनालाई पक्राउ गरी अनुसन्धान थालेको खड्काले जानकारी दिनुभएको छ ।

