इटहरी । मोरङको बूढीगंगा गाउँपालिका–५ मा सञ्चालित स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बुधबार साँझ भएको आगलागीबाट उद्योगमा जडान गरिएका विभिन्न उपकरण तथा संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ करिब ५ बजेतिर उद्योगको माथिल्लो तलाबाट आगो देखिएको थियो । तेल उत्पादन प्लान्टमा अत्यधिक तापक्रम बढेपछि आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, आगलागीको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक खड्ग राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उद्योगका कामदार, दुहबी नगरपालिकाको दमकल तथा विराटनगर महानगरपालिकाको दमकल परिचालन गरिएको थियो । संयुक्त प्रयासपछि करिब एक घण्टापछि साँझ ६ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । समयमै दमकल र सुरक्षाकर्मी परिचालन गरिएकाले आगो अन्य संरचनामा फैलिन नपाएको बताइएको छ । आगलागीबाट तेल उत्पादन प्लान्टमा प्रयोग भइरहेका विभिन्न मेसिन, विद्युत् वायरिङ, इन्सुलेसन सामग्री, जस्तापातालगायतका सामग्री जलेर नष्ट भएका छन् ।
क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार उद्योगलाई करिब २५ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुगेको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति वा घाइते हुने अवस्था भने नभएको पुष्टि भएको छ । आगलागीको थप विवरण संकलन गरेर घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

