इटहरी । बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ।
बाढीले तारजारी, पाइपलगायत केही मेसिनसमेत बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ । राजदुवालीको मेची राजमार्ग गत असोजको पहिरोले क्षति गरेपछि मर्मत हुँदैथियो। खोलाबाटै पर्खाल उठाएर बाटो बनाउनुपर्ने भएकाले मर्मतका सामग्री खोलाकै सतहमा थिए। नजिकै रहेको राजदुवाली खण्डमा हिलो भएका कारण ठूला गाडी चल्न सकेका छैनन्।
साना गाडी निकै समस्या झेलेर चलिरहेको डिभिजनले जनाएको छ। यस्तै, इलाम–झापा द्रुतमार्गको बेलासे माइखोलामा निर्माणाधीन बेलिब्रिजको काममा पनि बाढीले क्षति गरेको छ। त्यही सडकको पुवाखोलामा लगाइएको बेलिब्रिज भने बाढीले बगाएपछि यो सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

