इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले भन्सार छलीको सामान भित्र्याएको सूचनाका आधारमा इटहरी–६ स्थित मारुती किराना र नवदुर्गा स्टोरमा सिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन, भन्सार कार्यालय, राजस्व र उद्योग वाणिज्य संघ लगायतको उपस्थितिमा गरिएको गोदाम खानतलासीका क्रममा बिल–बिजक नभएका भारतीय पेय पदार्थ, तेल, बिस्कुट, चिनी लगायतका सामग्री बरामद गरिएको थियो । बरामद सामानको मूल्याङ्कन करिब ७० हजार रुपैयाँ मात्र देखिए पनि सतही अनुसन्धानका कारण थप सामान लुकाइएको आशंका गरिएको छ ।

अनुसन्धान टोलीले गर्मीको बहाना बनाउँदै सामान र कागजातको विस्तृत जाँच गर्न आनाकानी गरेको र मौज्दात प्रमाणित नगरेको पाइएको छ । ठूलो परिमाणमा तस्करी हुने भनिएका चिनी, दाल र रजनीगन्धा जस्ता सामग्री भने न्यून मात्रामा मात्र फेला परेका छन् । भन्सार अधिकृत ओमप्रकाश तामाङले अनुसन्धान जारी रहेको बताउनुभएको छ भने प्रशासकीय अधिकृत विनोद भट्टराईले कारबाहीका लागि भन्सारमा प्रतिवेदन पठाइने जानकारी दिनुभयो ।

बिहीबार सामान जफतसँगै पसलका सञ्चालक राज अग्रवाल र बिनोद अग्रवाललाई समेत प्रहरी नियन्त्रणमा लिने तयारी थियो । तर उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आवश्यक समन्वय र उपस्थित गराउने सर्तमा तत्काल दुवै व्यवसायीलाई नियन्त्रणमा लिइएन ।

इटहरी–६ हटिया लाइनमा सञ्चालित मारुती किराना तथा नवदुर्गा स्टोरका सञ्चालक अग्रवाललाई यसअघि पनि प्रहरीले नियन्त्रणमा लिएर तस्करीका सामानको कारोबार नगर्न चेतावनी दिँदै छाडिको थियो ।