इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा आयोजित ‘प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८३’ को उपाधि दाजुभाई फुटबल क्लबले जितेको छ ।
बिहीबार सम्पन्न फाइनल खेलमा टाडीँ फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै दाजुभाई फुटबल क्लब च्याम्पियन बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दाजुभाईले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको थियो । दाजुभाईका जर्सी नम्बर १६ का अप्सन गुरुङले ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जर्सी नम्बर १४ का सनम तामाङले ४० औँ मिनेटमा दोस्रो गोल थपे ।
खेलको ५२ औँ मिनेटमा जर्सी नम्बर १० का ओसन राईले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । उपाधिसँगै दाजुभाई फुटबल क्लबले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको टाडीँ फुटबल क्लबले नगद २५ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक समितिका संयोजक सविन महराले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत प्रदान गरिएका विधागत पुरस्कारमा फाइनल खेलका म्यान अफ द म्याच दाजुभाईका अप्सन गुरुङ घोषित भए । त्यसैगरी बेस्ट गोलकिपर विश्वास चौधरी, बेस्ट डिफेन्डर गंगा खड्का, हाई स्कोरर मेक्सन दास, बेस्ट कोच अबि राई तथा प्रतियोगिताको बेस्ट प्लेयर धिरेन क्षेत्री घोषित भए ।
टाडीँ फुटबल क्लबका सनम तामाङले बेस्ट मिडफिल्डरको पुरस्कार प्राप्त गरे । विजेता तथा उपविजेता टोलीलाई पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्त, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका इन्चार्ज ईन्सपेक्टर रवि प्याकुरेल, समाजसेवी मधु काङ्वा लगायतले पुरस्कार वितरण गरेका थिए ।


