इटहरी । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजना तथा लियो क्लब अफ इटहरी स्मार्ट सिटीको सह–आयोजनामा हुन गइरहेको ’स्व. लायन नारनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

इटहरीमा आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले यस सम्बन्धी जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै डिस्ट्रिक्ट प्रेसिडेन्ट मनोज तिवारीले युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउन, स्वस्थ प्रतिस्पर्धा, अनुशासन, र नेतृत्व क्षमताको विकास गर्न तथा स्वर्गीय लायन नारनाथ सापकोटाले समाजसेवामा पु¥याएको योगदानको सम्मान स्वरूप यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। मोरङ र सुनसरीका ८ वटा लियो क्लबहरूले सहभागिता जनाउने छन् ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। यसैबीच, प्रतियोगिताको निष्पक्ष तथा व्यवस्थित सञ्चालन सुनिश्चित गर्न सहभागी टोलीका प्रतिनिधिहरूको उपस्थितिमा आजै टाइ–सिट सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताका खेलहरू शनिबार बिहान ९ बजेदेखि सञ्चालन हुनेछन्। प्रतियोगिताका सहआयोजक कल्वका अध्यक्ष सुरेन्द्र थापाका अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रसारण मेरो गन्तव्य टेलिभिजन मार्फत गरिनेछ, जसबाट देश–विदेशमा रहेका खेलप्रेमीहरूले समेत प्रतियोगिताको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।

आयोजकका अनुसार प्रतियोगिताले युवाहरूबीच खेल संस्कृतिको विकास, सामाजिक सद्भाव, भाइचारा तथा आपसी सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा विभिन्न सञ्चारकर्मी, लियो पदाधिकारी, खेलकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।