इटहरी । मोरङको सुन्दरहरैंचा–१० स्थित हिमालय इङ्गलिस स्कुलको हिमालय स्काउट ग्रुपले विविध सामाजिक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै ७५ औँ स्थापना दिवस मनाएको छ ।

स्काउटिङको मूल भावना अनुरूप आयोजित उक्त विशेष समारोहमा केक काटेर स्थापना दिवस मनाइनुका साथै कुकिङ प्रतियोगिता, वृक्षारोपण तथा सरसफाइ जस्ता विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गरिएका थिए। कार्यक्रममा बोल्दै स्काउट लिडर बब्लु कुमार शाहले नेपालमा २००९ सालदेखि सुरु भएको स्काउट अभियानको लामो इतिहास स्मरण गर्दै यसले युवापुस्तालाई सकारात्मक मार्गमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

त्यस्तै, हिमालय स्काउट ग्रुपका प्रशिक्षक सुजन थापाले स्काउटिङ केवल अतिरिक्त क्रियाकलाप नभई जीवन उपयोगी शिक्षा भएको चर्चा गर्दै यसले विद्यार्थीलाई अनुशासित, जिम्मेवार र समाज प्रति उत्तरदायी नागरिक बन्न सिकाउने धारणा राख्नुभयो । विद्यालयका प्रिन्सिपल एवं प्रमुख वक्ता कमल खनालले पुस्तकीय ज्ञानसँगै व्यावहारिक ज्ञानको आवश्यकता औँल्याउँदै स्काउट गतिविधिले विद्यार्थीलाई आत्मविश्वासी बनाउने र आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

शिक्षक, विद्यार्थी र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा स्काउट सदस्यहरूले “सधैँ तयार” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै राष्ट्र निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता जनाएका छन् ।