इटहरी ।  ताप्लेजुङ सदरमुकाम फुङलिङबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

फुङलिङ नगरपालिका –४ न्युरोडमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम २४० मिलिग्राम पदार्थ बरामद भएको छ ।

पक्राउ पर्नेमा आठराई त्रिवेणी गाउँपालिका –२ घर भई हाल फुङलिङ नगरपालिका –४ बस्दैआएका २३ वर्षीय सचिन लिम्बू साँवा र पाँचथरको हिलिहाङ गाउँपालिका –२ निवासी २१ वर्षीय रोशन लिम्बू रहेका छन् । पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा २२ ९ग० बमोजिम मुद्दा दर्ता गरिएको छ ।

  प्रहरीले लागूऔषध नियन्त्रण तथा अवैध कारोबार रोकथामका लागि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि  थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।