इटहरी । सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित तुम्लिङटारका स्थानीय महिला समूह नै गठन गरी पन्चैबाजा संरक्षणमा लागिपरेका छन् ।
विभिन्न धार्मिक कार्य विवाह, व्रतबन्ध वा अन्य सामाजिक समारोहमा नौमती पन्चैबाजा बजाउन थालिएको छ । परम्परागत संस्कृतिलाई जोगाई राख्न स्थानीय महिला सव्रिmय रूपमा लाग्दै आएका छन् । स्थानीय तहले पनि यसलाई प्रोत्साहन गर्दै आएको छ । परम्परागत बाजाको संरक्षण गर्न खाँदबारी नगरपालिका–९ को वडा कार्यालयमा महिलाले नौमती बाजाको माग प्रस्तुत गरेको स्थानीय कुमारी मगरले बताउनुभयो ।
त्यसो त विगतमा कुनै निश्चित समुदायका मानिसले मात्र नौमती वा पन्चैबाजा बजाउने गर्थे तर पछिल्लो समय पन्चैबाजा बजाउने मानिस कम भएको र ती लोप हुन थालेपछि महिलाहरू अगाडि सरेको तुम्लिङटारकी नरकुमारी कुमाल बताउनुहुन्छ । खाँदबारी नगरपालिका–९ का वडाध्यक्ष विमलराज गौतम पन्चैबाजा संरक्षण र प्रवर्धनका लागि महिला समूहको माग अनुसार बाजा खरिद गरेर वितरण गरेको बताउनुभयो ।
उहाँले तीन लाख रुपियाँमा बाजा र पोसाक खरिद गरेर महिला समूहलाई वितरण गरिएको स्पष्ट पार्नुभयो । उहाँले दक्ष अनुभवी व्यक्तिबाट महिलालाई बाजा बजाउने तालिम दिइने वडाको योजना रहेको पनि बताउनुभयो ।


