इटहरी । इटहरीमा ब्लड बैंक स्थापना गर्न सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले ब्लड बैंकको आवश्यकता औंल्याउँदै यसको स्थापनाका लागि स्थानीय सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य हुनुपर्ने बताएका हुन्। कार्यक्रममा रेडक्रस इटहरीका अध्यक्ष दिनेश भट्टराईले रगतको अभाव हुँदा धरान र विराटनगरमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न इटहरीमै ब्लड बैंक आवश्यक रहेको बताउनुभयो ।
उहाँले करिब ३५ लाख रुपैयाँ लगानीमा ब्लड बैंक सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । वक्ताहरूले इटहरीमा सक्रिय सामाजिक संघसंस्थाहरूलाई स्थानीय सरकारले मासिक वा वार्षिक सञ्चालन खर्च उपलब्ध गराउनुपर्ने माग समेत गरे । एमआरएस प्रणामी अस्पतालका अध्यक्ष हेम घिमिरेले अस्पताल विस्तारसँगै ब्लड बैंकको आवश्यकता अझ बढ्ने बताउनुभयो ।
नागरिक समाज, सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले ब्लड बैंक स्थापनाका लागि आफूहरू सकारात्मक रहेको बताउँदै स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग आवश्यक पहल गर्न आग्रह गरेका छन्।
नगर कार्यपालिका सदस्य दिनेश रासाइलीले पनि ब्लड बैंक स्थापना नगरको प्राथमिकतामा रहेको र पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


