इटहरी ।  सुनसरीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका ६ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा लत्ताकपडा, किराना सामान, इलेक्ट्रिक तथा मेसिनरी पार्टपुर्जा, पाउडर दूध र सुन राख्ने बट्टालगायत करिब ६ लाख ७८ हजार ६ सय ३८ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार अस्थायी प्रहरी चौकी पुष्पलालचोकले इटहरी–१० बाट १ लाख २० हजार रुपैयाँ, प्रहरी चौकी भोक्राहाले भोक्राहा नरसिंह गाउँपालिका–३ बाट १४ हजार रुपैयाँ तथा प्रहरी चौकी कोशी ब्यारेजले कोशी गाउँपालिका–८ बाट ६६ हजार ६ सय रुपैयाँ बराबरका लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय भण्टाबारीले कोशी गाउँपालिका–८ बाट ३५ हजार ८ सय रुपैयाँ मूल्यको पाउडर दूध बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय दुहवी र सीआरभी दुहवीको संयुक्त टोलीले दुहवी–५ बाट २ लाख ८८ हजार ५ सय ३८ रुपैयाँ बराबरका किराना तथा इलेक्ट्रोनिक सामान नियन्त्रणमा लिएको छ । 

यस्तै, इलाका प्रहरी कार्यालय चिमडीले बर्जु गाउँपालिका–६ बाट ३३ हजार ३ सय ५० रुपैयाँ बराबरका किराना तथा लत्ताकपडा, प्रहरी चौकी कप्तानगञ्जले देवानगञ्ज गाउँपालिका–४ बाट ३० हजार रुपैयाँ बराबरका मेसिनरी सामान, इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज–२ बाट २४ हजार रुपैयाँ बराबरका किराना सामान तथा अस्थायी प्रहरी चौकी सखुवागाछीले इनरुवा–३ बाट ६६ हजार २ सय रुपैयाँ मूल्य बराबरका सुन राख्ने बट्टा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाइएको सूचना अधिकारी खड्काले जानकारी दिए।