इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) सुन्दरहरैँचा नगर समितिको आयोजनामा कक्षा ५ सम्मका शिक्षक–शिक्षिकाहरूका लागि ‘निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख तेज आचार्यले मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। विशिष्ट अतिथि नेसनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले शिक्षकहरू नयाँ शैक्षिक अवधारणा र मूल्याङ्कन प्रणालीसँग अद्यावधिक हुन जरुरी रहेकोमा जोड दिनुभयो।
नगर समितिका अध्यक्ष भीम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पिटीआरसी नेपालका प्रशिक्षक जनकराज पराजुलीले मूल्याङ्कनको अवधारणा, व्यवहारिक प्रयोग, अभिलेखीकरण र सिकाइ सुधारका उपायबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले मूल्याङ्कन केवल अङ्क दिने प्रक्रिया नभई सिकाइ सुधार्ने माध्यम भएको स्पष्ट पार्नुभयो।
नगरभित्रका १४ विद्यालयका करिब १ सय जना शिक्षक–शिक्षिका सहभागी रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव ऋषिराम पाठकले गर्नुभएको थियो। प्रशिक्षण कार्यक्रमले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।


