इटहरी । मोरङको कानेपोखरी गाउँपालिकामा भूमि सम्बन्धी समस्या पुनः चर्चामा आएको छ । करिब पाँच दशकअघि देखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाले पटक–पटक भूमि विवादका कारण आफूहरू त्रसित बन्दै आएको बताएका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा भूमि, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समाधान आयोग मोरङका पूर्व अध्यक्ष नवीन पौडेल, पूर्व गाविस अध्यक्ष तारा बहादुर काफ्ले तथा स्थानीय पीडितहरूले रमाइलो, बयरवन, कानेपोखरी बजार लगायतका क्षेत्रमा वर्षौंदेखि भूमि समस्या समाधान हुन नसकेको गुनासो गरे । कानेपोखरी–६ रमाइलोका वडाध्यक्ष मोहन अधिकारी, नारायण श्रेष्ठ, शिव पन्थी लगायत १४ परिवार प्रत्यक्ष रूपमा प्रभावित रहेका छन्।
स्थानीय नारायण श्रेष्ठले आफ्ना बुबाले करिब ४० वर्षअघि तेज पराजुलीबाट चार धुर जग्गा खरिद गरी उपभोग गर्दै आएको र त्यससम्बन्धी राजस्व रसिद, तमसुक तथा अन्य कागजात आफूसँग रहेको बताउनुभयो । शिव पन्थीले पनि २०६६ सालमा खरिद गरेको जग्गामा घर निर्माण गरी बसोबास गर्दै आएको जानकारी दिनुभयो । विवादित भनिएको पाँच कठ्ठा चार धुर जग्गा जनसेवा उच्च माध्यमिक विद्यालयको स्वामित्वमा रहेको दाबी गरिए पनि विगतमा विद्यालय प्रशासन र जग्गा जोतभोग गर्दै आएका पक्षबीच सहमति भएको बताइएको छ ।
सोही सहमति अनुसार विद्यालयले रकम प्राप्त गरी अर्को स्थानमा एक बिघा जग्गा खरिद गरेको थियो। हाल उक्त क्षेत्रका १४ परिवारले घर तथा अन्य संरचना निर्माण गरी बसोबास गरिरहेका छन्। बेला–बेलामा सरकारी जग्गा अतिक्रमण हटाउने हल्ला चल्दा आफूहरू असुरक्षित महसुस गर्ने स्थानीयको भनाइ छ ।
भूमि समस्या समाधान आयोग मोरङका पूर्व अध्यक्ष पौडेलले समस्या समाधानका लागि घर भत्काउने होइन, कानुनी जटिलता हटाएर दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो । सार्वजनिक तथा सरकारी जग्गाको क्षेत्रफल नघट्ने गरी नक्सा अद्यावधिक गर्नु नै उपयुक्त विकल्प भएको उहाँको धारणा छ ।


