इटहरी। अविरल वर्षापछि आएको बाढी र पहिरोले चिशङ्खुगढी गाउँपालिकामा भौतिक संरचना तथा चौपायाको क्षति गरेको छ । शनिबार अपरान्हदेखि परेको वर्षाका कारण गाउँपालिकाको वडा ३ र ५ जोड्ने खानी खोला माथिको पक्की पुल बाढीले आंशिक रूपमा बगाएको छ ।
पुलमा क्षति पुगेपछि स्थानीय आवत–जावत प्रभावित भएको छ । यस्तै, वडा १ र २ को सिमानामा रहेको बाङ्गे खोलामा आएको बाढीले स्थानीय टीका भुजेल, मननारायण श्रेष्ठ र मनबहादुर सार्कीका गोठ पूर्ण रूपमा बगाएको छ । घटनामा १ भैँसी र ५ गोरु बेपत्ता भएका छन् । पहिरोका कारण स्थानीय रामकुमार राई र जनकबहादुर मगरको घरमा आंशिक क्षति पुगेको छ । घर जोखिममा परेपछि दुवै परिवार आफन्तको घरमा अस्थायी रूपमा बसिरहेका छन् । वडा ५ को छहरेस्थित गणहा खोलामा आएको बाढीले सुरेश नेपालीको गोठ बगाउँदा १ भैँसी बेपत्ता भएको छ ।
एउटा पाडो मृत अवस्थामा फेला परेको छ । घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खानी भन्ज्याङबाट प्रहरी नायब निरीक्षक खुदु मुर्मु र प्रहरी चौकी शेर्नाबाट प्रहरी सहायक निरीक्षक दुलिचन साहको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
टोलीले खोजतलास तथा क्षतिको थप विवरण सङ्कलन गरिरहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष निशान्त शर्माले क्षतिको यथार्थ विवरण सङ्कलन गरी चाँडै राहत व्यवस्थापन गरिने बताउनुभयो ।


